पृष्ठभुमीः सारा विश्वलाई नै हायलकायल पारिरहेको कोरोना भाईरस संक्रमणको आयतन र गहिराईको अनुमान गर्नु पनि अर्थहिन देखिन थालेको छ । एकछिन अगाडीको तथ्यांक एकछिन पछि नै अर्कै आईरहेको अवस्था छ । सन १९३० पछि आएको भनिएको महामन्दी पछिको शायद यो नै विश्वका लागि ठुलो त्रासदीपूर्ण अवस्था हो । विश्व स्वास्थ्य संगठनबाट जारी भइरहेका विज्ञप्ति, अन्र्तराष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एशियाली विकास बैंक, संयुक्त राष्ट्र संघ जस्ता निकायहरुले आंकलन गरिरहेका क्षतीको अनुमान र प्रभाव पार्न सक्ने आर्थिक सामाजिक असर यसै हो भन्न सकिने अवस्था छैन । नेपालकै सन्र्दभमा पनि कुल ग्राहस्थ वृद्धिदर एशियाली विकास बैंकको अनुसार ५ प्रतिशत कायम हुने, विश्व बैंकले १.५ देखि २.८को विचमा रहन्छ भन्नु वा अमेरीकी कुल ग्राहस्थ वृद्धिदर ६ प्रतिशत तल जान्छ अथवा विश्वको कुल ग्राहस्थ वृद्धिदर ऋणात्मक रहन्छ भन्नु सबै पूर्वाअनुमान हो वास्तविक चित्र त कोरोनाले विश्राम लिए पछि मात्र देखिनेछ । २ लाख भन्दा बढिको मृत्यु र झन्डै ३० लाख भन्दा बढि मानिस संक्रमित हुनु र कहाँ गएर कहिले अडिन्छ भन्ने टुंगो नहुनु आफैंमा पसिना छुट्ने अवस्था हो । यस आलेखमा भने यसै अवधीमा तथा कोरोनाको सन्त्रास समाप्त भएपछि राज्यले के गर्न आवश्यक छ र त्यस पश्चात मुलुकको अवस्था कस्तो रहनेछ भनेर आंकलन गर्ने प्रयास गरिएको छ ।
